संछिप्त परिचय

ऐतिहासिक पृष्ठभूमि

अहिलेको धनकुटा नगरपालिकामा करिब ४०० वर्ष पहिलेदेखि बस्ती बसेकोे मानिन्छ । यसको नामकरण र अन्य कुराको सम्बन्धमा विभित्र भनाइहरु पाइन्छन्, जस्तै, वर्तमान कागते भत्रे ठाउँमा ठूलो पोखरी थियो र यस पोखरीको दुबैतिर अग्ला अग्ला डाँडाहरु रहेका छन् । ती डाँडाहरुलाई धान कुट्ने ढिकीको खाँवा र पोखरीलाई ओखल जस्तो देखिने भएकोले मानिसहरुले “यो त धान कुट्ने ठाउँ पो रहेछ, यसलाई धानकुटा भत्रु प¥यो” भन्न थालियो र विस्तारै धनकुटामा परिणत भएको हो भनिन्छ । त्यस्तै गरी, सत्रौं शताब्दी भन्दा अघि धनकुटाको अस्तित्व नभएपनि नेपाल तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरूलाई खाद्यात्र तराईबाट सिमानासम्म लैजान धेरै टाढा हुने भएकोले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकोले धानकुटा भत्र थालिएको र विस्तारै धानकुटाबाट धनकुटा भएको हो भत्रे जनश्रुति पनि पाइन्छ ।

यो नगरको वडा नं. ७ हुलाकटोलको पुछारमा शिरवानी (त्यो भन्दा माथि नगर नभएकोले बस्तीको शिर भएकाले शिरवानी नाउँ रहन गएको) भन्ने ठाउँमा रहेको मेजर पाटी नाउँले चिनिने पाटी भित्र टाँसिएको शिलालेख अनुसार वि. स. १८८३ सालमा त्यो पाटी र त्यहाँदेखि अलि तल घुमाउने चौतारा थापा थर भएको मान्छेले बनाएको शिलालेखमा प्रष्ट छ तर नाउँ बुझिँदैन । त्यस बखत त्यहाँ यस्माली मगरहरूको बसोबास र पछि भादगाउँबाट आएका नेवारहरूको बसोबास भएको देखिन्छ । बमविक्रम राणा बडाहाकिम भई धनकुटा आएपछि हाल सल्लेरीछेउमा दरबार बन्यो, गौडाको कार्यालय बन्यो, पैसा काट्ने टक्सार बन्यो । मानिसको बस्ती बस्ने क्रम शुरु भयो । बमविक्रम राणालाई मिठाई ज्यादै मन पर्ने भएकोले आफू आउँदा मिठाई बनाउने मान्छे साथै ल्याएको, जो हाल माथिल्लो कोप्चे बस्ने कुमार मास्केका जिजुबाजे भएको कुरा बूढापाकाहरु बताउँछन् । नेवारको बाहुल्यता रहेको यो नगरमा भादगाउँ, पाटन, नाला र साँखुतिरबाट आएका नेवारहरूबाट यो बस्ती फैलिएको हो । त्यस्तै गरी सुविधा खोज्दाको मान्छेले मान्छे खोज्दै जाँदा अरु जातजातिहरुको पनि यहाँ प्रवेश भयो । उत्तरपानीका तामाङहरू ताप्लेजुङ जिल्लाबाट आएका देखिन्छन् भने वि.स. १९५५ सालतिर राणा परिवार भित्र प्रजातान्त्रिक विचारधाराका धनी राणा प्रधानमन्त्री देवशम्शेरलाई पदच्युत गरेर धनकुटा पठाइएको थियो र उनीसँग आएका विभिन्न जातिका अंगरक्षकहरु पनि यही नगरमै बसे । विभिन्न जातजातिले बनिएको यो नगर आ–आफ्नै परम्परा र संस्कृति बोकेर अझैसम्म बसेको छ । हाल यहाँ नेवार, ब्राह्मण, क्षेत्री, राई, लिम्बु, मगर, शेर्पा, तामाङ, दमाई, कामी, सार्कीहरूको बसोबास छ ।

राणाकालकै समय देखिनै प्रसिद्धि हासिल गरेको यो नगर चहल­पहल पूर्ण रूपमा थियो । राणाकालकै समय देखि यो नगर क्षेत्र भित्र हाटबजार लाग्न शुरु भइसकेको थियो । हाटबजारको सुरुवातले कृषिजन्य सामाग्रीको खरिद बिक्री गर्न निकै सघाउ पुर्‍याएको थियो । वि.सं.१९४२ (राणा काल) मा धनकुटा, गौंडाको रूपमा प्रसिद्धि पाएपछि यसले उत्तरतिरका जिल्लाहरू भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम लगायत धनकुटा जिल्लाकै पनि प्रायः सबै गा.वि.स.हरुको लागि व्यापारिक तथा आवतजावतको केन्द्र (Growth Axis) को रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।

वि.सं.१९७१ सालमा स्थापित त्रिचन्द्र अस्पताल (हाल धनकुटा अस्पताल) तथा वि.सं.१९८६ सालमा स्थापित चन्द्र आयुर्वेद औषधालय (हाल कोशी अञ्चल आयुर्वेद औषधालय) आज पर्यन्त परिवर्तित नामले भएपनि नगरको ऐतिहासिक धरोहरको रूपमा रहिरहेका छन् । वि.सं.१९८७ सालमा यसै नगर क्षेत्रबाट २ पैसे र ५ पैसे ढ्याक छापिएको कुरामा इतिहास साक्षी छ । नगर पहाडी क्षेत्रमा अवस्थित भएको भएतापनि वि.सं.२०२३ सालमानै यहाँ गाडी चल्न शुरु भैसकेको थियो । वि.सं.२०३७ साल पूर्व यहाँ बाह्य क्षेत्रको यातायातको पहुँच नभएको कारणले गाडीलाई आवश्यक पर्ने सम्पूर्ण पाटपुर्जाहरू हेलिकोप्टरबाट ल्याउने गरिन्थ्यो ।

राणाकालमा धनकुटा गौंडाको रूपमा चिनिने यस नगरलाई तत्कालीन सरकारले वि.सं.२०३५ सालमा तीन वटा गाउँ पञ्चायतहरू (चुलीबन, धनकुटा बजार र निगाले) मिलाएर नगर पञ्चायत घोषणा गरेको थियो । नेपाल राजपत्र (भाग ३) मा तत्कालिन श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालयद्वारा २०३५ साल माघ १५ गते निम्न व्यहोराको सूचना प्रकाशित गरिएको थियो :

“नगर पञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा ९ को उप–दफा (२) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले कोशी अञ्चलको धनकुटा जिल्ला अन्तर्गत पर्ने पूर्व माथिल्लो भेगको लुङदाङ खोला तथा तल्लो भेगको निमुवा खोला र ताँखुवा खोला, पश्चिम माथिल्लो भेगको हापिदुगे खोला तथा तल्लो भेगको धनकुटा खोला, उत्तर हिले त्रिशुलदेखि उत्तरको डाँडाको पानीढलो र दक्षिण तमोर नदीको सीमाना यति चार किल्लाभित्र पर्ने जम्मा ९,१५० (नौहजार एकसय पचास) जनसंख्या भएको इलाकालाई धनकुटा नगर पञ्चायत क्षेत्र घोषित गरेको छ ।” (श्रोतः नेपाल राजपत्र (भाग ३),२०३५ साल माघ १५ गते)

चौथो पञ्चवर्षीय योजनामा धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको विकास केन्द्रको रुपमा अघि सारिएको थियो । यस अनुसार तराई प्रदेशलाई हिमाल प्रदेशसँग जोडने विकास अक्ष (Growth Axis) को अवधारणा अनुरूप मोटर बाटो निर्माण गरी धरान तथा विराटनगरलाई धनकुटाको माध्यमबाट भोजपुर, चैनपुर, संखुवासभा तथा तेह्रथुमसँग सम्पर्क कायम गरी हेदाङ्गनासम्म बढाई उत्तर–दक्षिण व्यापार कायम भई आर्थिक विकासमा केही हदसम्म असन्तुलन घट्दै जाने अपेक्षा राखिएको थियो । वि.सं.२०४६ सालको सफल जनआन्दोलन पछिको राजनैतिक परिवर्तन पछि यसले नगरपालिकाको हैसियत प्राप्त गर्‍यो ।